Sat. Apr 20th, 2019

एग्रो मनाङ : दक्षिण एसियाकै ठुलो स्याउ फार्मको व्यवसायिक यात्रा

लोभलाग्दो स्याउ फार्म हेर्न हिमाली जिल्ला मनाङको डिस्याङ गाउँपालिकाको भ्राताङमा पुग्नुपर्छ । जहाँ एउटा चमत्कार फलिरहेको छ । भनिन्छ , एग्रो मनाङ दक्षिण एसियाकै सबैभन्दा ठुलो स्याउ फार्म हो । ७ सय ३५ रोपनी क्षेत्रफलमा फैलिएको यो फार्म ४ वर्ष अघि सुरु भएको हो।

बिरुवा रोपेको पहिलो वर्ष १५ टन स्याउ फल्यो । वर्षेनी स्याउ फल्ने मात्रा बढ्दैछ । यस वर्ष ४५० मेट्रिक टन स्याउ उत्पादन भयो । स्याउ नै ४ करोडको बिक्री गर्ने कम्पनीको लक्ष्य छ ।

फार्मका सञ्चालक प्रतिनिधिसभा सदस्य पाल्देन छोपाङ गुरुङ हुन् । अहिले उनका छोराहरूले यो व्यवसाय अघि बढाइरहेका छन् । हुन त उनीहरूको पुर्ख्यौली पेसा पर्यटन व्यवसाय थियो । ठमेलमा चल्तीको होटेल बेचेर उनीहरू कृषि उद्यमी बन्न मनाङ पुगेका हुन । साँच्चै भन्ने हो भने पाल्देन छोपाङ गुरुङको सपनामा उनका छोराहरूले गरेको हिम्मत नै अहिलेको एग्रो मनाङ हो । खोजी गर्दै जाँदा उनीहरूले पाए, आफ्नो पुर्खौली थलोमा स्याउ फलाउन सकिने रहेछ ।

एग्रो मनाङका प्रबन्ध निर्देशक युवराज गुरुङले बताउनुभयो, “बुबाको सपना गाउँमा नै गएर केही गर्छु भन्ने थियो । तर त्यो सेन्टिमेन्ट मात्र थियो । त्यसलाई पूर्णता दिनका लागि हामीले आय आज्रनको हिसाबले खोजी गर्‍यौ । हाम्रो ठमेलमा मुन लाईट नामक होटेल थियो । त्यसपछि कृषितिर लागेका हौँ । स्याउमा सम्भावना देख्यौं अनि फार्म सुरु गरेका हो । सन् २०१५ बाट फार्म सुरु भयो । ४ पटक स्याउ उत्पादन भयो ।”

तर उनीहरू स्पष्ट थिए कि परम्परागत हिसाबले व्यवसाय आँट्नु र सफल हुनु निकै गारो कुरा हो । उनीहरूले व्यवसायको आधुनिक प्रविधितर्फ अध्ययन केन्द्रित गरे ।

सकेसम्म नजिककैका देशहरू टेक्नोलोजी लिन भारतका विभिन्न स्थानमा गए । तर त्यहाँबाट नहुने भएपछि युरोप पनि गए। त्यहिबाट टेक्नोलोजी ट्रान्सफर गर्ने प्रयासमा जुटे ।

युवराज गुरुङले थप बताए, “स्याउको बिरुवा समेत इटली र सर्बियाबाट ल्यायौं । इटली र सर्भियाबाट ६० हजार बिरुवा ल्याएको हो । ४८ हजार बिरुवा रोपियो । अरू चैँ नर्सरी बनाएर राख्यौ र अर्को साल थप विस्तार गर्यौं ।

यता व्यवसाय सुरु हुँदै थियो, उता आफन्त र गाउँलेहरू भन्दै थिए कि त्यो अनकन्टार ठाउँमा दु:ख गर्न किन जानुपर्‍यो । हुन त गाउँमा फार्म तयार गर्दै गर्दा धेरै पटक हामी आफैले आफैलाई पनि यो प्रश्न नसोधेका होइनौं । साँच्चै हामी किन आयौ होला ? बिस्तारै बुझ्यौँ कि यो दीर्घकालीन काम भएकोले हामी तयारी राम्रै गर्दैछौं सोचेर काम अघि बढायौं ।”

फार्म सुरुवाती चरणमै १५ करोड लगानी भयो । थप पूर्वाधार निर्माण हुदै गए । लगानी थपियो , फार्ममा अहिलेसम्म ३० करोड खर्चेका छन् । फार्ममा ५० जनाले रोजगारी पाएका छन् ।

युवराज गुरुङले अग्रो मनाङबारे अझ प्रस्ट पार्दै बताए, “सुरुको वर्ष १५ टन स्याउ उत्पादन भयो I अहिलेसम्म ९ सय टन जति उत्पादन भएको छ । यो वर्ष साढे ४ सय टन उत्पादन भयो । हामीले जुस बनाउन पनि सुरु गरेका छौँ । यो आगामी समयको लागि योजना हो । अहिले पो स्याउ थोरै छ । अहिले, स्याउकै बजार छ । तर पछि धेरै आएपछि स्याउ उत्पादनसँगै बजारीकरण पनि जानु पर्‍यो । अन्य हिसाबले पनि अघि बढाउन थालेका छौँ । हुन त फलफुल व्यवसायमा आफ्नो आम्दानी उठाई फाईदा कमाउन अलि समय लाग्छ । पुरानो प्रविधिभन्दा छोटो छ । पछि गएर एकदमै राम्रो हुन्छ । आम्दानी राम्रो हुन्छ । साढे ४ करोडको बिक्री वितरण गर्ने लक्ष्य छ ।”

उनीहरूले स्याउको ब्राण्डिङ र प्याकेजिङमा विशेष ध्यान दिएका छन् । स्याउको साइज अनुसार ग्रेडिङ गर्ने मिसेन पनि छ । ग्रेडिङ गरेर ठुला साईजका स्याउ बजार पठाईन्छल। साना-साना स्याउ जुन बजारमा ग्राहकले त्यति मन पराउदैनन – यसको जुस र चाना बनाउने काम पनि हुदैछ ।

युवराज गुरुङले भन्नुभयो, “यसको बकल्पमा के के बनाउन सकिन्छ भनेर अघि बढ्दै छौ । किनकि यासरी साना किसानले पनि स्याउको मूल्य लिन सक्छन् ।”

स्याउ उद्यममा निकै ठुलो सम्भावना छ I यो त केवल सुरुवात हो । अझै २० गुणा बढी स्याउ उत्पादन भए पनि बजारको समस्या छैन । तर प्रविधिको प्रयोग भने गर्नै पर्छ ।

स्याउ व्यवसाय सानै लगानीमा पनि गर्न सकिन्छ

युवराज गुरुङको सुझाव अनुसार, “कम्तीमा १० रोपनी जग्गामा स्याउ खेती सुरु गर्न सक्यो भने स्वरोजगार पनि भइन्छ । खर्च पनि कम हुन्छ । आम्दानीको हिसाबले पनि राम्रो हुन्छ । यसरी, साढे ३ देखि ४ टनको लक्ष्य लिन सक्छौ । ३ टन नै उत्पादन भयो भने किलोको १ सयको हिसाबले पनि, ३ लाख प्रति रोपनी । यो हिसाबले १० रोपनीमा ३० लाख आम्दानी गर्न सकिन्छ ।

ग्राहकले कहाँबाट आयो स्याउ भन्नेमा भन्दा पनि कति सस्तोमा स्याउ पाइन्छ भन्ने कुरा तिर ध्यान जान्छ । त्यसैले ठुलो स्केलमा उत्पादन हुनुपर्‍यो । ढुवानीमा अलि समस्या हुँदा कष्ट अलि बढी छ तर बिस्तारै अब बाटो बन्दै छ । कष्टमा पनि केही कमी हुन्छ । ठुलो मात्रामा स्याउ खेती गर्दा स्थानीयले मात्र पुग्दैन बाहिरको जानु पर्छ ।

तर याद राखौं यो दीर्घकालीन उद्यम हो । स्याउ रोपेपछि २२ देखि २५ वर्ष निकै राम्रो उत्पादन लिन सकिन्छ । तर स्याउको बोटको गोडमेल र मलजल भने आवश्यक छ । बजारको समस्या छैन । यो व्यवसायको सम्भावना निकै धेरै छ ।”

हावापानीको हिसाबले नेपालमा स्याउ उत्पादनका लागि निकै सम्भावना भएको क्षेत्र छन् । उच्च पहाडी र हिमाली क्षेत्रमा स्याउ उत्पादन गर्न सकिन्छ ।

२ देखि ३ हजार मिटर उचाइको क्षेत्रमा स्याउ खेती गर्न सकिन्छ । स्याउ उत्पादनका लागि हजार देखि १५ सय घण्टा ७ डिग्री कम ताप क्रम चाहिन्छ ।

स्याउको बजारबारे बुझौ

स्याउ हामीले नियमित खाने फलफूल हो । अझ कोहि आफन्त विरामी भए भेटन जानुपर्यो । चाडबाड आयो । आफन्तकहा भेटन जादैछौ । हामीले सम्झने फलफूलको पहिलो रोजाई प्रायः स्याउ नै हुन्छ । बजारमा स्याउको मुल्य सामान्तयता १ सय ५० वाट सुरु हुन्छ ।

नेपाल फलफुल थोक व्यवसाय संघका अध्यक्ष अमर बनियाँ भन्नुहुन्छ, “पहिला दैनिक ५ काटुन स्याउ विक्रि हुन्थ्यो, अहिले कयौ गुणा बढेको छ । अब त दैनिक १०,००० काटुन स्याउ विक्रि हुने सम्भावना देखिन्छ I”

तर हामीले कहिले सोचेका छौ यो स्याउ कहावाट आउछँ होला ?

एकपटक स्याउको विश्व वजारलाई बुझौ । विश्वमा केरा, सुन्तला र अंगुरपछि स्याउ सबैभन्दा बढी उत्पादन हुने फलफुल हो । बिश्वभरिमा ७ हजार ५ सय प्रकारका स्याउ उत्पादन हुन्छन  ।

स्याउ उत्पादनका लागि नेपालमा पनि असिम सम्भावना छ । हिमाली क्षेत्रमा स्याउ सबैभन्दा बढी उत्पादन हुन्छ । नेपालमा १३ प्रकारका स्याउ उत्पादन हुने गरेको तथ्याङक छ ।  कुल फलफुल उत्पादनको ४.२ प्रतिशत स्याउले ओगटेको छ ।

२०६७ यता स्याउ उत्पादनको अवस्था हेर्ने हो भने उत्पादनले खासै गति लिन सकेको छैन । २०६७ सालमा करिब ४३ हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो । तर यसको केहि वर्षमा स्याउ उत्पादन अझै घट्यो । २०७३ मा आईपुग्दा ४१ हजार मेट्रिक टन मात्र स्याउ उत्पादन भयो । यो विचमा उत्पादन क्षेत्र पनि त्यति विस्तार भएको छैन । पछिल्लो तथ्यांक अनुसार साढे पाँच हजार हेक्टर क्षेत्रफलमा स्याउ उत्पादन भैरहेको छ ।

तर स्याउको व्यवसाय र बजारका बारेमा जति जति खोजी गर्दै गयौ, हाम्रो मन यहाँ निर कुडियो । किनकी नेपालमा स्याउ आयातको अवस्था हेर्दा हरेक साल उकालो लाग्दै छ । तर निर्यात भने खुम्चिदै गएको छ । सन् २०६७ मा ४५ हजार मेट्रिक टन स्याउ आयात भयो । अर्को साल ४७ हजार मेट्रिक टन पुग्यो । ५६ हजार मेट्रिकटन, ५८ हजार मेट्रिकटन हुदै सन् २०७२ मा ६६ हजार मेट्रिक टन अर्थात ६ करोड ६० लाख स्याउ आयातको अवस्थामा हामी पुग्यौ । यसरी आउने स्याउ बढि चिनवाट आयात हुने गरेको छ । करिब पाँच बर्षको यो अवधिमा स्याउको आयातमा २१ हजार मेट्रिक टन बढोत्तरी भयो ।

स्याउको नाममा गत साल मात्र ४ अर्व ८७ करोड ७९ लाख रकम बाहिरीएको छ । अर्थात यति रकमको स्याउ नेपाल आयात भएको हो ।  नेपालमा प्रयोग हुने ९० प्रतिशत भन्दा बढि स्याउ आयातित हो ।

स्याउ आयातको यो अवस्थाले पनि नेपालमा स्याउको बजारको असिम सम्भावना देखाउदैन र ?

साभार : hamrokatha.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *